कार्यालय प्रमुख नै भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार हुनुपर्छ : प्रधानमन्त्री कार्की
चितवन, २८ माघ । प्रधानमन्त्री सुशीला कार्कीले हरेक निकाय तथा कार्यालयका प्रमुखले आफ्नो संस्था र त्यसअन्तर्गत हुने सम्भावित भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी आफैं लिनुपर्ने बताएकी छन् ।
काठमाडौँमा आज आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवस कार्यक्रममा सम्बोधन गर्दै उनले जुनसुकै कार्यालयमा हुने अनियमितताका लागि सोही कार्यालयका प्रमुखलाई नै उत्तरदायी बनाउनुपर्ने धारणा राखिन् ।
उनले भनिन्, “भ्रष्टाचार नियन्त्रणका लागि संविधानले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो शक्तिशाली निकायको व्यवस्था गरेको छ । यस निकायले गर्ने अनुसन्धान र कारबाहीले कर्मचारी तथा राष्ट्रसेवक पदाधिकारीमा निश्चित रूपमा जवाफदेहिताको भावना र अनुशासन बढाएको छ । भ्रष्टाचार नियन्त्रणको प्रमुख जिम्मेवारी सरकार तथा कार्यकारी अंगकै हो । त्यसैले प्रत्येक निकाय र कार्यालयका प्रमुखले आफ्नो संस्थाभित्र हुने भ्रष्टाचार रोक्न अग्रसर हुनुपर्छ।”
















