निर्वाचन आउन २१ दिन बाँकी: नागरिक शिक्षा प्रवर्द्धनका लागि यस्ता छन् स्रोत सामग्री
चितवन, २९ माघ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्री तयार गरेको जनाएको छ। लोकतन्त्र, निर्वाचन प्रक्रिया, समावेशिता, मतदाता नामावली, मतदान प्रक्रिया लगायतका विषय समेटेर सामग्री तयार गरिएको हो।
यसमा मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली तथा राजनीतिक दलसम्बन्धी जानकारी पनि समावेश गरिएको छ। आयोगले ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सबैको पहुँचका लागि आफ्नो आधिकारिक वेबसाइटमा उपलब्ध गराएको छ।
आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार उक्त सामग्रीका आधारमा सरकारी तथा नागरिक क्षेत्रका सम्बन्धित निकाय, संस्था र व्यक्तिले नागरिक शिक्षा अभियान सञ्चालन गर्न सक्नेछन्। साथै, आगामी फागुन १ गतेदेखि मतदाता शिक्षा कार्यक्रमलाई थप तीव्रता दिने तयारी आयोगले गरेको छ।





















