भरतपुरमा दुई अस्थायी मतदान केन्द्र थपिँ
चितवन, ०८ फाल्गुण । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भरतपुरमा दुई अस्थायी मतदान केन्द्र थपिने भएका छन्। निर्वाचन कार्यालयका अनुसार स्थायी मतदान केन्द्रबाहेक कारागार कार्यालय चितवन र जिल्ला समन्वय समिति चितवनमा अस्थायी मतदान केन्द्र स्थापना गरिनेछ।
निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार कारागारमा रहेका ११५ कैदीबन्दीका लागि कारागारभित्रै मतदानको व्यवस्था गरिनेछ भने मतदान केन्द्रमा नखटिएका सुरक्षाकर्मी र सरकारी कर्मचारीका लागि जिल्ला समन्वय समितिमा अस्थायी केन्द्र राखिनेछ।
जिल्लामा कुल दुई हजार ९७६ कर्मचारी निर्वाचनमा खटिनेछन्। यसअघि ४९४ स्थायी मतदान केन्द्र कायम रहेकामा दुई अस्थायी केन्द्र थपिएसँगै संख्या ४९६ पुगेको छ। साथै १६२ मतदानस्थल रहेकामा दुई स्थल थपिएका छन्।
जिल्लाका तीन निर्वाचन क्षेत्रमा कूल चार लाख ४२ हजार ८२ मतदाता रहेका छन्, जसमा दुई लाख १७ हजार ३१४ पुरुष, दुई लाख २४ हजार ७६६ महिला र दुई जना तेस्रोलिङ्गी मतदाता छन्।





















