झण्डा जलाउने कार्य स्वीकार्य छैन, आस्थामाथि आघात पुर्याउने छुट कसैलाई छैन : अध्यक्ष ओली
चितवन, १० फाल्गुण । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा र सम्मानका लागि मानिस जुनसुकै कदम चाल्न तयार हुने बताएका छन्। झण्डा जलाउने विषयलाई सामान्य रूपमा लिन नसकिने उनको भनाइ छ।
शनिबार झापाको भद्रपुरमा आयोजित क्षेत्र नं. ३ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झण्डा आदर्श र आन्दोलनको केन्द्र भएको उल्लेख गरे। कसैको आस्था र विश्वासमाथि आघात पुर्याउने कार्य स्वीकार्य नहुने बताउँदै उनले रास्वपाबाट आपराधिक प्रकृतिको काम भएको आरोप लगाए।
सूर्य अंकित झण्डा एमाले आन्दोलनको प्रतीक भएको उल्लेख गर्दै उनले आन्दोलनको प्रतिविम्बमाथि अपराध गर्ने छुट कसैलाई नभएको बताए। यस्तो अपमानजनक कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ थियो।
रास्वपाले मनोनयनकै दिन दमकबाट अवाञ्छित गतिविधि सुरु गरेको आरोप लगाउँदै उनले चुनाव जित्न नसक्ने देखिएपछि यस्तो हर्कतमा उत्रिएको दाबी गरे। दाङमा भएको झण्डा जलाउने घटनाले रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको स्पष्ट पारेको उनको भनाइ छ।
सोही कार्यक्रममा अध्यक्ष ओलीले झापा क्षेत्र नं. ३ का सयौं ‘जेनजी’ युवाहरूलाई एमालेमा स्वागत गरेका थिए। राष्ट्रिय युवा संघ भद्रपुरका अध्यक्ष दीपक बुढाथोकीले जेनजी युवाहरूको उत्साहपूर्ण प्रवेशले पार्टीमा थप ऊर्जा मिलेको बताएका छन्।























