निर्वाचन स्वच्छ बनाउन बैतडीमा साँझपछि मदिरा बिक्रीमा रोक
प्रकाशित मिति: आइतबार, फाल्गुण १०, २०८२ | १२:३७:४४
चितवन, १० फाल्गुण। जिल्ला प्रशासन कार्यालय बैतडीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै मदिराजन्य पदार्थको बिक्री वितरण तथा ओसारपसारमा कडाइ गर्ने निर्णय गरेको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नहुँदासम्म साँझ ७ः०० बजेदेखि मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।
प्रशासकीय अधिकृत भोजलाल थारूका अनुसार व्यवसायीहरूसँगको छलफलपछि मौन अवधिमा मदिराजन्य वस्तुको बिक्री पूर्ण रूपमा निषेध गर्ने तथा फागुन ११ देखि २४ गतेसम्म मदिरा ढुवानी र ओसारपसार नगर्ने निर्णय गरिएको छ ।
निर्णय उल्लङ्घन भए प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।
निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १०, २०८२ |
१२:३७:४४
221























