त्रिशूली नदीमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते
चितवन, ११ फाल्गुण । धादिङमा मध्यराति भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
आज राति करिब १:३० बजे धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको हो।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको थियो। साथै नेपाल प्रहरी र नेपाली सेनाको टोली पनि उद्धार कार्यमा संलग्न भएको थियो।
प्रहरीका अनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ। रातिको समय भएकाले उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ।
घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। मृतक तथा घाइतेहरूको सनाखत हुन बाँकी छ भने दुर्घटनाको कारण अझै खुलेको छैन।























