दाङको समृद्धिका लागि एमाले अपरिहार्य : शंकर पोखरेल
चितवन, १३ फाल्गुण । शंकर पोखरेलले विकास र समृद्धिको नेतृत्व गर्न सक्ने सक्षम शक्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) मात्र भएको बताएका छन्। दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका उनले घोराही–१३ भ्यूडर तथा तुलसीपुर–१७ मजगाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केन्द्रमा एमालेको मजबुत उपस्थिति नभएसम्म दाङले अपेक्षित बजेट, योजना र नीतिगत प्राथमिकता प्राप्त गर्न नसक्ने दाबी गरे।
उनले अबको निर्वाचनमा एमालेलाई सशक्त रूपमा जिताउन आग्रह गर्दै जिताएमा दाङको समृद्धिको नेतृत्व एमालेले गर्ने बताए। दाङको आर्थिक रूपान्तरणका लागि ३५० विगाह क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अघि सार्दै उद्योग, रोजगारी र उत्पादन वृद्धिमार्फत जिल्लालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको उनले उल्लेख गरे।
पर्यटन प्रवर्द्धनका लागि बाह्रकुने, ज्यामिरे र मौलाकोटलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्भावनालाई उपयोग गरिने बताए।
आफू मुख्यमन्त्री हुँदा पारदर्शिता, सुशासन र नतिजामुखी विकासलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गर्दै उनले पूर्वाधार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा थालिएका योजनाले त्यसको प्रमाण दिने बताए। घोराही–तुलसीपुर चारलेन सडक, विजौरी–दहवन हुँदै शहीद मार्ग विस्तार तथा मानपुर–जलकुण्डी सडक स्तरोन्नतिजस्ता आयोजना मध्य दाङको विकासका लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो।
स्वास्थ्य क्षेत्रतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले जिल्लामै विशेषज्ञ सेवा र प्राविधिक शिक्षा सुदृढ बनाउने योजना रहेको बताए। काठमाडौँबाट बजेट ल्याउन र नीतिगत निर्णयमा प्रभाव पार्न सक्ने नेतृत्व आवश्यक रहेको उनले जोड दिए।
यसैबीच, घोराहीमा आयोजित कार्यक्रममा उनले स्वर्गद्वारी गुठी पीडित मोही किसानहरूको समस्या समाधान आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे। गुठी समस्या समाधानका लागि विधेयक तयार भइसकेको जानकारी दिँदै सम्बन्धित निकायको सक्रियता अभावले ढिलाइ भएको बताए। गुठी पीडित किसानको हक अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उनले दोहोर्याए।
पोखरेलले कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर विकास, स्थिरता र समृद्धिको एजेन्डा घर–घरमा पुर्याउन आह्वान गरेका थिए। कार्यक्रममा स्थानीय नेता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।




















