रुपन्देही–५ मा मतदाताको प्राथमिकता शिक्षा : लुम्बिनी क्षेत्रमा गुणस्तर कमजोर
चितवन, १३ फाल्गुण। रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ भगवान बुद्धको जन्मस्थल लुम्बिनीदेखि उत्तरतर्फ सैनामैना क्षेत्रसम्म फैलिएको छ । मिश्रित समुदाय र विविध भूगोल रहेको यस क्षेत्रमा पाँचवटा पालिकाका ३२ वडा समेटिएका छन् ।
विश्व पर्यटन नक्सामा चर्चित लुम्बिनी सांस्कृतिक नगरपालिका शिक्षाको क्षेत्रमा भने कमजोर अवस्थामा रहेको देखिन्छ । यहाँका मतदाताले शिक्षाको गुणस्तर सुधार र उच्च शिक्षामा पहुँच विस्तार गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिने बताएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका भित्र विद्यालयको संख्या पर्याप्त भए पनि शैक्षिक उपलब्धि र उत्तीर्ण दर न्यून छ । स्नातक तहसम्म अध्ययन हुने एउटा मात्र क्याम्पस रहेको हुँदा विद्यार्थीहरू बुटवल र भैरहवा जान बाध्य छन् ।
स्थानीयवासीहरूले सांसदका उम्मेदवारहरूलाई शिक्षा सुधारलाई मुख्य एजेन्डा बनाउन आग्रह गरेका छन् । उनीहरूका अनुसार शिक्षा सुधार बिना समाज र राष्ट्रको विकास सम्भव छैन ।




















