मतदानमा परिचयपत्र वा नागरिकता अनिवार्य, सवारी पास वितरण एकाइ स्थापना गर्ने आयोगको निर्णय
चितवन, १५ फाल्गुण । प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ अनुसार मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्नेछन्।
यसैगरी, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्रमध्ये कुनै एक कागजात साथमा लिएर मतदान केन्द्रमा उपस्थित भए पनि मतदान गर्न पाइने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र मतदान गर्न पाउने विषय मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी तथा सम्बन्धित सरोकारवालालाई सूचना प्रवाह गर्ने निर्णयसमेत गरेको जनाएको छ।
त्यस्तै, मतदानको दिनमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण एकाइ स्थापना गरिनेछ। उक्त एकाइमा निर्वाचन आयोगका तर्फबाट दुई जना र जिल्ला प्रशासन कार्यालय काठमाडौँका तर्फबाट दुई जना कर्मचारी खटाइने व्यवस्था गरिनेछ।





















