छठको दोस्रो दिन आज ‘खरना’, यसरी मनाइँदै
चितवन, ०९ कार्तिक । छठपर्वको दोस्रो दिन बर्तालुहरू ‘खरना’ विधिको तयारीमा व्यस्त छन्। शनिबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालुहरू आज पञ्चमीका दिन ‘खरना’का लागि तयारी गर्दै छन्। परम्पराअनुसार बर्तालुले बिहान सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास बस्छन् र राति सक्खर, दूध र चामलको खिर पकाई कूलदेवता तथा छठी देवीलाई अर्पण गर्छन्।
दिनभरिको निराहारपछि अर्पण गरिएको खिरलाई प्रसादस्वरूप ग्रहण गर्ने चलन मिथिलामा ‘खरना’का नामले चिनिन्छ। मधेसका महोत्तरीसहितका जिल्लाहरूमा छठ लोकआस्थाको महान् पर्वका रूपमा मनाइँदै आएको छ। पर्वको पहिलो दिन बर्तालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुन, प्याज, कोदो र मुसुरो जस्ता अशुद्ध मानिने खाद्यपदार्थ नखाई ‘नहाय–खाय’ वा ‘अर्बा–अर्बाइन’ विधि पूरा गर्छन्।
‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ एउटै दिनका आपसमा सम्बन्धित विधिहरू हुन्। श्रद्धा, निष्ठा र आत्मसंयमलाई केन्द्रमा राख्ने यो पर्वको ‘खरना’का दिन बेलुकी चन्द्रदर्शन गरेपछि माटोको नयाँ चुल्होमा पकाइएको खिर केराको पातमा राखी छठी मातालाई चढाइन्छ र त्यसपछि बर्तालु तथा परिवारजनले प्रसादका रूपमा ग्रहण गर्छन्। मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्णका अनुसार ‘खरना’ स्वधर्म, आत्मसंरक्षण र पापकर्मको नाशको प्रतीक हो।
छठ पर्वको मुख्य विधि कात्तिक शुक्ल षष्ठीका दिन सम्पन्न हुन्छ। सो दिन बर्तालुले निराहार व्रत बसेर सजाइएका घाटहरूमा पुग्छन् र अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य अर्पण गर्छन्, जसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ। सप्तमीका बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य अर्पण गरी पर्वको समापन गरिन्छ, जसलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।
‘खरना’को रातदेखि सुरु भएको निराहार व्रत सप्तमीका दिन बिहान अघ्र्य दिएपछि मात्र तोडिन्छ। यस अवधिमा बनाइने प्रसाद—ठकुवा, भुसुवा र अन्य मिष्टान्न परिकारहरू ढिकी–जाँतोमा पिसिएको पीठोबाट बनाइन्छन्। यी प्रसाद आफन्त र छिमेकीलाई बाँड्ने, घरमै बोलाएर ख्वाउने परम्परा रहेको छ।
पर्वमा अघ्र्य दिने घाटहरू आकर्षक रूपमा सजाइन्छन् र सरसफाइलाई विशेष प्राथमिकता दिइन्छ। पहिले मधेसी समुदायमा सीमित यो पर्व अहिले पर्वते मूलका हिन्दू तथा अन्य धर्मावलम्बीहरूले पनि उत्साहपूर्वक मनाउन थालेका छन्। यसरी सबै धर्म, संस्कृति र समुदायको सहभागितासहित छठपर्व अहिले साझा आस्थाको पर्वका रूपमा स्थापित हुँदै गएको छ। रामनन्दन महेन्द्र विश्वेश्वर क्याम्पस, जलेश्वरका प्राचार्य अजयकुमार झालका अनुसार, छठपर्व मिथिला लोकसंस्कृतिको अभिन्न र एकतामूलक प्रतीक बनेको छ।





























