आचारसंहिता उल्लंघनका ८७ उजुरी, ५७ को मात्रै आयो स्पष्टीकरण
चितवन, १४ फाल्गुण । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ८७ वटा उजुरी दर्ता भएका छन् । ती उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण माग गरिएकामा ५७ वटाको जवाफ प्राप्त भएको छ ।
निर्वाचन आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार हालसम्म ८१ जनासँग लिखित स्पष्टीकरण मागिएको छ भने ६ जनासँग पुनः स्पष्टीकरण सोधिएको छ । आचारसंहिता उल्लंघन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारहरूसँग पनि स्पष्टीकरण माग गरिएको छ । दर्ता भएका सञ्चारमाध्यम र तिनमा आबद्ध पत्रकारका हकमा भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण तथा आवश्यक कारबाहीका लागि पत्राचार गरिएको छ ।
निर्वाचन विश्लेषणको नाममा मत सर्वेक्षण प्रकाशन गरी कुनै दल वा उम्मेदवार निर्वाचित हुने दाबी गरिएको विषयमा सेतोपाटी अनलाइनसँग पनि प्रेस काउन्सिलमार्फत स्पष्टीकरण मागिएको आयोगले जनाएको छ ।
जिल्लास्तरमा समेत आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी प्राप्त भई आवश्यक छानबिन र कारबाही प्रक्रिया अघि बढाइएको छ । आयोगका अनुसार प्राप्त ५४ वटा जवाफ अध्ययनको चरणमा छन् । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत र सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रूपमा परिचालित छन् ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका विषय र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । आयोगले छोटो अवधिमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउँदै पालनाको प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा सञ्चालन भइरहेको जनाएको छ । जिल्लामा दर्ता भएका उजुरीमा सम्बन्धित जिल्लाबाटै स्पष्टीकरण मागी दोषी देखिएकामाथि कानुनी प्रक्रिया अघि बढाइएको पनि आयोगले स्पष्ट पारेको छ ।




















