प्रशासनको आग्रह लत्याउँदै भरतपुरकी मेयर दाहाल

प्रशासनको आग्रह लत्याउँदै भरतपुरकी मेयर दाहाल

चितवन, १७ पुष ।
जिल्ला प्रशासन कार्यालय चितवनको आग्रहलाई लत्याउँदै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल एक कार्यक्रममा सहभागि भएकी छन् । शुक्रबार भरतपुरस्थित एक होटलको उद्घाटन गर्न प्रमुख अतिथि भएर गएकी दाहालले प्रशासनले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई चुनौती दिएकी हुन् ।


उनी त्यहाँ विना मास्क मञ्चमा बस्ने, भिडमा ओहोरदोहोर गर्ने र होटल उद्घाटन गर्ने कार्यक्रममा सरिक भइन् । जिल्ला प्रशासन कार्यालय चितवनले पुष १५ गते बुधबार एक सूचना जारी गरी कोरोना रोकथाम र नियन्त्रणमा थप सजगता अपनाउन आग्रह गरेको थियो । ‘सार्वजनिक स्थल तथा कार्यालयमा प्रवेश गर्ने हरेक मानिसले मास्क अनिवार्य रुपमा प्रयोग गर्ने’, प्रशासन कार्यालयका प्रशासकिय अधिकृत खेमराज पौडेलद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गरेर मात्रै सार्वजनिक कार्यक्रमहरु राख्न प्रशासनले राजनितिक दल तथा विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेको छ । त्यसो त कार्यक्रममा सहभागि अधिकांश अतिथिहरुले समेत मास्क लगाएका थिएनन् । प्रशासनको आग्रहलाई मेयरबाट नै खिल्लि उडाइँदा त्यसले जनतामा नकरात्मक सन्देश गएको छ ।
कोरोनाको भाइरसको नयाँ प्रकार देखिएको र त्यो भाइरस नेपालमा पनि भित्रिन सक्ने जोखिम रहेको भन्दै प्रशासनले सावधानिलाई थप प्रभावकारी बनाउन आग्रह गरेको थियो ।