खैरहनीमा वडाकै स्वास्थ्य केन्द्रमा गर्भवती महिलाहरूलाई निशुल्क भिडियो एक्सरे सेवा
चितवन, १९ भाद्र । खैरहनी नगरपालिकाकाले गर्भवती महिलाहरुको लागि वडा स्तरमै निशुल्क भिडियो एक्स रे सेवा सुरु गरेको छ । उप प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुको लागि निशुल्क सामुदायिक भिडियो एक्सरे सेवा सुरु गरिएको हो । गर्भवती महिलाहरुको लागि निशुल्क भिडियो एक्सरे सेवाको बुधबार कठार स्वास्थ्य चौकीमा खैरहनीका नगर प्रमुख शशि कुमार खनियाँले उद्द्धाटन गरेका छन् ।
घरनजिकै निशुल्क भिडियो एक्सरे सेवाले गर्भवती महिलाहरुलाई सहजता हनुकोसाथै भिडियो एक्सरेको लागि खैरहनी नगर अस्पताल , रत्ननगर र भरतपुर जानुपर्ने बाध्यता हट्ने नगर प्रमुख शशि कुमार खनियाँले बताए । विपन्न परिवार र घरमा साधन नहुनेहरु यो कार्यक्रमबाट धेरै लाभान्वित हुने र स्वास्थ्य केन्द्रसम्म आउन नसक्ने अवस्थामा घरमै पुगेर समेत सेवा दिन सकिने नगर प्रमुख खनियाँले बताए । गर्भवती महिलाहरुलाई सुत्केरीको समयमा निशुल्क रुपमा एम्बुलेन्स सेवा मार्फत खैरहनी नगर अस्पतालसम्म लैजाने र जटिल प्रकृतिमा त्यहाँबाट भरतपुरको सुविधासम्पन्न अस्पताल जान समेत निशुल्क एम्बुलेन्स सेवा पाइने उनले बताए ।
कार्यक्रममा बोल्दै खैरहनीका स्वास्थ्य शाखा प्रमुख भोजराज खनालले जहाँ सेवाग्राही त्यहाँ सेवा भन्ने भावनलाई आत्मसात गर्दै भिडियो एक्स रे सेवा वडा वडामा ल्याइएको बताए । नेपाल सरकारले तोकेका कार्यक्रममा समेत नगरपालिकाले थप गर्दै हरेका महिना फरक फरक स्वास्थ्य संस्थामा निशुल्क भिडियो एक्सरे सेवा दिन लागेको बताए । यस कार्यक्रमले आमा सुरक्षा र नवजात शिशु मृत्यु दर घटाउन थप टेवा पुग्ने खनालले बताए ।
सामुदायिक भिडियो एक्सरे सेवा प्रत्येक महिना विभिन्न ९ वटा वडामा संचालन हुनेछ । खैरहनी नगरपालिका वडा नम्बर ५,६,७ र ८ का गर्भवती महिलाहरुको लागि खैरहनी नगर अस्पतालबाटै सेवा प्रदान हुने र अन्य सवै वडामा हरेका महिनामा एक पटक निशुल्क भिडियो एक्सरे सेवा प्रदान हुने खैरहनी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक नविन अधिकारीले जानकारी दिए ।
सामुदायिक भिडियो एक्स रे सेवा शुभारम्भ कार्यक्रममा खैरहनी १० का वडा अध्यक्ष चन्द्रविक्रम चौधरी , ११ का वडा अध्यक्ष दिपेन्द्र दराई , कार्यपालिका सदस्यहरु गोमादेवी भुजेल , मैयां वि.क , बुधरमिया चौधरी , खैरहनी १० का वडा सदस्यहरु , स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वंयम्सेविकाहरु , लाभग्राही गर्भवती महिलाहरुको उपस्थिति रहेको थियो ।
						  
					
    



















