स्वास्थ्य मन्त्रालय सिंहदरबारमै सार्ने तयारी शुरु
चितवन, १३ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अब सिंहदरबार परिसरमै सार्ने तयारी थालिएको छ।
सिंहदरबारको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सारिने योजना छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सो जग्गामा अस्थायी ‘प्रिफ्याब’ भवन निर्माण भइरहेको छ।
उनले भने, “नेपाली सेनाको गण उत्तरतर्फ सरेपछि खाली भएको स्थानमा ६ वटा प्रिफ्याब भवन बनाइँदैछ। बाँकी भवनमा रङ लगाएर कार्पेटिङ गरी प्रयोग गर्ने योजना छ।”
प्रवक्ता बुढाथोकीले दुई हप्ताभित्र संरचना तयार गरी स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने तयारी भइरहेको र सम्भवतः मङ्सिर १ गतेदेखि स्थानान्तरण सकिने बताए।
उहाँका अनुसार, “सिंहदरबारभित्र नयाँ संसद् भवन बनेपछि हालको संसद् सचिवालयको भवन स्वास्थ्य मन्त्रालयको स्थायी संरचनाका रूपमा प्रयोग गर्ने योजना छ। यसको लागि पनि छलफल भइरहेको छ।”
भदौ २४ गते जेनजी आन्दोलनको आगलागीले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन जलेर ध्वस्त भएको थियो। हाल मन्त्रालयले आफ्नो कार्य संचालन नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नयाँ भवनबाट गरिरहेको छ।

























