चितवनमा ट्याक्टर र बलेरो ठोक्किँदा एक महिलाको मृत्यु, १० घाइते
चितवन,१९ असोज । चितवनकोकालिका नगरपालिक वडा नम्बर ५ वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो गाडी आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।
आज दिउँसो करिब १:३५ बजेको समयमा मचौली टोलबाट लंकालाइनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३-०१-०२४ च ३४७३ नम्बरको बलेरो गाडी आपसमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका बलेरोमा सवार व्यक्तिहरूलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुरतर्फ पठाइएकोमा उपचारका क्रममा बलेरोमा सवार कालिका नगरपालिका–३ बस्ने ३५ वर्षीया लक्ष्मी परियारको दिउँसो २:३९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बलेरो चालकसहित अन्य १० जना यात्रु घाइते भएका छन् र उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनास्थलमा तत्काल खटिएको प्रहरी टोलीले दुर्घटनामा संलग्न ट्याक्टर, बलेरो र ट्याक्टरका चालक कालिका नगरपालिका–१ बस्ने ४२ वर्षीय विके श्याङ्वोलाई नियन्त्रणमा लिएको छ। बलेरो चालक पनि घाइते भई अस्पतालमा उपचाररत रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
घाइतेहरूको नामावली:
१. कोमल बहादुर श्रेष्ठ (वर्ष ३९, बलेरो चालक, जि. चितवन कालिका न.पा.–३) – अवस्था मध्यम
२. सावित्री माझी (वर्ष ५२, जि. चितवन कालिका न.पा.–३) – अवस्था मध्यम
३. उमा श्रेष्ठ (वर्ष २६, जि. चितवन कालिका न.पा.–७) – अवस्था मध्यम
४. कविता परियार (वर्ष २५, जि. चितवन कालिका न.पा.–३) – अवस्था मध्यम
५. मैया कुमारी लोप्चन (वर्ष ४३, जि. चितवन कालिका न.पा.–३) – अवस्था मध्यम
६. जुनी सुनार (वर्ष २२, जि. चितवन कालिका न.पा.–३) – अवस्था मध्यम
७. उमा वाइवा (वर्ष २०, जि. चितवन कालिका न.पा.–३, टाउकोमा चोट) – अवस्था मध्यम
८. पवित्रा वि.क. (वर्ष २०, जि. चितवन कालिका न.पा.–३) – अवस्था मध्यम
९. लाल कुमारी गुम्वा (वर्ष ४२, जि. चितवन कालिका न.पा.–३) – अवस्था मध्यम
१०. सितामाया श्रेष्ठ (वर्ष ३५, जि. चितवन कालिका न.पा.–३) – अवस्था मध्यम




















