भिमफेदीमा सुमो दुर्घटना: ३ जनाको मृत्यु, ७ जना घाइते
हेटौँडा, मंसिर ३ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा आज बिहान यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो जिप बिहान करिब ८:३५ बजे सडकको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको हो ।
दुर्घटनापछि जिप चालकसहित १० जना घाइते भएका थिए । घाइतेहरूलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो । अस्पताल पुर्याइएकामध्ये ३ जनालाई बिहान ९:२० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बाँकी ७ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




















