कालिकामा संचालित लुमन्तीको तीन वर्षे परियोजना सम्पन्न
चितवन , १ मंसिर । लुमन्ती आवासका लागि सहयोग समूहले समुदायको अगुवाइमा सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सामुदायिक सशक्तीकरण कार्यक्रम अन्तर्गत कालिका नगरपालिकामा सञ्चालन गरेको तीन वर्षे परियोजना सम्पन्न भएको छ। परियोजनाको समयावधि समाप्त भएसँगै आज सामाजिक लेखाजोखा तथा समापन कार्यक्रम गरिएको हो।
कालिका नगरपालिकाका ११ वटा समुदायमा सञ्चालन गरिएको परियोजनामार्फत विपद् जोखिम न्यूनीकरण, आवास निर्माण, शौचालय निर्माण, धारा जडान, जीविकोपार्जन, सिँचाइका लागि कुलो निर्माण, बाटो मर्मत, बत्ती जडानलगायतका काम गरिएको छ। त्यस्तै समुदायको क्षमता तथा नेतृत्व विकासका लागि विभिन्न तालिमसमेत सञ्चालन गरिएको थियो।
कार्यक्रममा लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर वाइबा तामाङले तीन वर्षको अवधिमा परियोजनामार्फत सम्पन्न भएका गतिविधि तथा उपलब्धिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। सो अवसरमा परियोजनाबाट लाभान्वित समुदायका प्रतिनिधिहरूले आफ्ना अनुभवसहितको प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए।
कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत किरण थापा, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, समुदायका प्रतिनिधि, वन तथा विद्यालयका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सामाजिक परिचालन विकास राना मगरले स्वागत मन्तव्य राखेका थिए। परियोजनामार्फत समुदायमा भएका भौतिक पूर्वाधार विकाससँगै स्थानीयको क्षमता, नेतृत्व र जीविकोपार्जनमा परेको प्रभावबारे समेत छलफल गरिएको थियो।




















