बाढीपीडितका लागि उद्योग वाणिज्य संघ खैरहनीद्वारा १ लाख ४२ हजार रुपैयाँ सहयोग
१६ भदौ , चितवन । उद्योग वाणिज्य संघ खैरहनीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि आर्थिक सहयोग गरेको छ । संघले बाढीपीडितको लागि नेपाल उद्योग वाणिज्य महासंघमार्फत पठाउने गरि आज १ लाख ४२ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।
गत भदौ १० गते तिब्बत क्षेत्रबाट उत्पन्न भई भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएकोप्रति संघले गहिरो दुःख व्यक्त गरेको छ। संघले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र उपचारको व्यवस्था मिलाउन नेपाल सरकार र सम्बद्ध निकायहरूसँग अनुरोध समेत गरेको छ।
बाढीपीडितहरूको राहत तथा पुनःस्थापनाका लागि संघका तर्फबाट पहिलो चरणमा १ लाख ४२ हजार रुपैयाँ (रु. १,४२,०००/-) नेपाल उद्योग वाणिज्य महासंघमार्फत पठाइसकिएको संघका कार्यवाहक अध्यक्ष अर्जुन लम्सालले जानकारी दिएका छन्।
विषम परिस्थितिमा उद्योगी, व्यवसायी तथा आम नागरिकहरूलाई आफ्नो क्षमता अनुसार स्वेच्छिक आर्थिक सहयोग गर्न संघले आग्रह गरेको छ। साथै, राहत सङ्कलनका नाममा हुन सक्ने ठगी र अनाधिकृत गतिविधिबाट बच्नका लागि नेपाल सरकारद्वारा सार्वजनिक गरिएको आधिकारिक बैंक खाता वा क्युआर (QR) कोडमार्फत मात्र रकम जम्मा गर्न संघले ध्यानाकर्षण गराएको छ। विपदको यस घडीमा सबैलाई एकजुट भई बाढीपीडितहरूको राहत र पुनःस्थापनाका लागि यथाशक्य सहयोग गर्न उद्योग वाणिज्य संघ खैरहनीले अपिल गरेको छ।


















