सिन्धुलीका कृषकलाई चितवनमा संचालित मौरीपालन तालिमको समापन, तालिम उपलब्धीमूलक रहेको सहभागीहरुको प्रतिक्रिया
चितवन , ४ मंसिर । कृषि विकास कार्यालय सिन्धुलीको आयोजनमा भएको मौरीपालन सम्बन्धी तालिम सकिएको छ । कार्यालयले सिन्धुलीका १८ जना कृषक छनौट गरि चितवनमा रहेको मौरीपालन विकास केन्द्र भण्डारा तिनदिने तालिम संचालन गरेको थियो । २ गेतदेखी सुरु भएको तालिमको आज समापन गरिएको तालिक संयोजक उमादेवी श्रेष्ठले जानकारी दिनुभयो । कृषि विकास कार्यालय सिन्धुलीको आयोजना तथा मौरीपालन विकास केन्द्र भण्डाराको प्राविधिक सहयोगमा भएको मौरीपालन सम्बन्धि अगुवा कृषक तालिममा मौरीपालन विकास केन्द्रका प्रमुख सुजन अमगाईसहित प्रशिक्षकहरू कालुराम दहित, राजेश प्रसाद यादव, प्रजु घिमिरे , प्रविणा श्रेष्ठ र कमलनयन पन्तले प्रशिक्षण दिनुभएको थियो । तालिमको समापन कार्याक्रममा तालिममा सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मौरीपालन विकास केन्द्रका प्रमुख सुजन अमगाई र कृषि विकास कार्यालयका प्रमुख अनुप अधिकारीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । त्यस्तै प्रशिक्षकहरुलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।
समापन कार्यक्रममा बोल्ने कृषकहरुले तालिम उपलब्धीमूलक रहेको भन्दै तालिम आयोजना गर्ने कृषि विकास कार्यालय सिन्धुलीलाई धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि मौरीपालन विकास केन्द्रका प्रमुख सुजन अमगाईले तालिममा सहभागीहरुलाई मौरीपालनको महत्व, सम्भावना र चुनौती, आधुनिक घार तथा उपकरणको प्रयोग, मौरीगोला निरीक्षण, लुटलटाई व्यवस्थापन, गृहत्याग र हुल निर्यास नियन्त्रणबारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइएको थियो । त्यसैगरी, कृत्रिम आहार व्यवस्थापन, परम्परागत घरबाट आधुनिक घारमा गोला सार्ने तरिका, परागसेचन र विषादीको असर, मौरीचरण पात्रो निर्माण, गोला समायोजन तथा विभाजन र मौरीमा लाग्ने रोग तथा किराको पहिचान र व्यवस्थापनका विषयमा समेत प्रशिक्षण दिइएको बताउनुभयो । तालिममा सिकेका सैद्धान्तिक र व्यवहारिक कुरालाई व्यवहारमा लागु गर्न उहाँले आग्रह समेत गनुभयो । उहाँले कृषकहरुमा देखिएको उत्साह र प्रशिक्षकहरुले दिनुभएको ज्ञानले मूर्त रुप लिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । मौरीपालन विकास केन्द्रमा रहेको स्रोत साधनको सदुपयोग गरेर थोरै अवधिमा समेत धेरै सिकाउन सकिने भएकोले सिन्धुलीबाट चितवनमै ल्याएर तालिम संचालन गरिएको उहाँले बताउनुभयो ।
कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले सिन्धुली जिल्लामा मौरीपालन व्यवसाय थप सुढृढ गर्ने , कृषकको प्राविधिक ज्ञान र क्षमता वृद्धि गर्ने उदेश्यले तालिम आयोजना गरेको उहाँले प्रष्ट पार्नुभयो । प्रशिक्षक र प्रशिक्षार्थी कृषकहरुको कुरा सुन्दा जुन उदेश्यले तालिम आयोजना गरिएको हो त्यो सार्थक भएको अनुभूति गरेको बताउनुभयो । उहाँले तालिम लिएका कृषकहरुले मौरीका घारहरु थपेर व्यवसायिक बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।





















