खैरहनीमा मंसिर १७ देखि मेयर कप फुटबल प्रतियोगिता हुने
चितवन । खैरहनी नगरपालिकाले पाँचौँ मेयर कप फुटबल प्रतियोगितासहित विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले एक सूचना जारी गर्दै आगामी मंसिर १७ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो। नगर विकास योजनाअन्तर्गत खेलकुदतर्फ विनियोजित बजेट तथा नगर खेलकुद विकास समितिको निर्णयअनुसार पाँचौँ मेयर कप फुटबल प्रतियोगिता, रोड रेस प्रतियोगिता र भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। नगरपालिकाले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा टिमलाई आवश्यक तयारी गर्न आग्रह गरेको छ।
पाँचौँ मेयर कप फुटबल प्रतियोगिता मंसिर १७ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन मंसिर १७ गते दिउँसो २ बजे र समापन मंसिर २७ गते दिउँसो २ बजे गरिने नगरपालिकाकि शिक्षा अधिकृत सुमन सिलवालले जानकारी दिईन । त्यस्तै, रोड रेस प्रतियोगिता मंसिर २७ गते बिहान ६ः३० बजे सञ्चालन हुनेछ। उक्त प्रतियोगितामा खुला तथा भेट्रान्सतर्फ महिला र पुरुष खेलाडी सहभागी हुन सक्नेछन्।
फुटबल, रोड रेस र भलिबल प्रतियोगितामा सहभागी हुन इच्छुक टिम तथा खेलाडीले नियमअनुसार टिम र खेलाडीको विवरण तथा नागरिकतासहित आवश्यक कागजात मंसिर ८ गतेभित्र दर्ता गराउनुपर्नेछ। प्रतियोगिताका लागि खैरहनी माध्यमिक विद्यालयको खेलकुद मैदान छनोट गरिएको छ। भलिबल प्रतियोगिता भने आगामी पुसको दोस्रो हप्तामा सञ्चालन गर्ने तयारी गरिएको छ। यसको मिति पछि निर्धारण गरिने शिक्षा अधिकृत सिलवालले बताइन् । प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी नगर खेलकुद विकास समितिलाई दिइएको छ।





















