राप्ती नगरपालिकाको तालाबन्दी खुल्यो
चितवन, २६ असोज । राप्ती नगरपालिकामा लगाईएको ताला खुलेको छ । नगर उपप्रमुख देवेन्द्र लामाको उपस्थितिमा आन्दोलनरत पक्षसंग आइतबार भएको वार्तामा सहमति जुटेपछी ताला खुलेको हो । राप्ती नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बस्न नसक्नुको विषयमा छानविन समिति गठन गर्ने सम्बन्धमा सोमबार बैठक बोलाउने र सो बैठकले २ जना आन्दोलनरत पक्ष सहित ५ जनाको छानबिन समिति गठन गर्ने सहमति भएको छ ।
त्यस्तै कार्यालयको नियमित कार्यपालिका तथा नगरसभाको बैठक राख आवश्यक व्यवस्था मिलाउने, नगर प्रमुख एवं उपप्रमुख अनिवार्य कार्यालयमा उपस्थित रहि सेवा प्रवाह चुस्त दुरुस्त बनाउने, नगरका विशेष समितिहरुको बैठकमा आन्दोरत पक्षलाईको मागलाइ ध्यानमा राखि बैठकमा सहभागी गराउन आवश्यक समन्वय गर्ने ,सार्वजनिक सम्पत्ति कार्यालयको समय र कार्यालय प्रयोजनको लागि मात्र प्रयोग गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।
यस्तै विभिन्न योजना र कार्यक्रमसँग सम्बन्धित भुक्तानी नियम संवत कानूनी प्रक्रिया पुरा गराई भूक्तानी गर्ने , नियमिति रुपमा सार्वजनिक सुनुवाइको आयोजनाको व्यवस्था मिलाउने ,प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थाको लागि कार्यपालिकाको बैठकबाट निर्णय गराई सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको छ ।
बैठकमा नगरपालिकाको तर्फबाट कार्यबहाक नगर प्रमुख देवेन्द्र लामा,राप्ती ५ का वडा अध्यक्ष सिताराम बल र अधिकृत राजेन्द्र मैनाली तथा आन्दोलनरत पक्षको तर्फबाट अनिल अधिकारी ,कुबेर सिंह लामा,हिराबहादुर श्रेष्ठ ,नवीन पराजुली लगायत उपस्थित थिए ।