असुरक्षित गर्भपतन अझै रोकिएको छैन : आफूखुसी औषधि नखाऔँ
चितवन, १७ कार्तिक । बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिने महिलाको संख्या बढिरहेको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका तथ्यांक अनुसार, गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सूचीबद्ध स्वास्थ्य संस्थामार्फत सेवा लिएका थिए। तीमध्ये २७ जना २० वर्ष मुनिका थिए। आव २०८०/८१ मा भने १,१५२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए।
तर ‘लाज र डर’ का कारण अझै पनि केही महिलाले औषधि प्रयोग गरी असुरक्षित गर्भपतन गराइरहेका छन्। यस्ता सेवाग्राहीमा किशोरी र सम्बन्धविच्छेद गरेका महिला पनि छन्। जिल्लाका १० स्थानीय तहमा २६ स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएका छन्।
सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार चालु आर्थिक वर्षका पहिलो तीन महिनामा १७२ जनाले सूचीबद्ध स्वास्थ्य संस्थामार्फत सेवा लिएका छन्, जसमा २० वर्ष मुनिका ६ जना छन्। उनले बताए, “कतिपय महिलाले आफ्नो स्वास्थ्य जोखिममा पारेर असुरक्षित गर्भपतन गराइरहेका छन्। धेरै समस्या भएपछि मात्रै उनीहरू सूचीबद्ध स्वास्थ्य संस्थामा आउँछन्।”
बुर्तिबाङ अस्पतालकी नर्सिङ अधिकृत पार्वती अर्यालका अनुसार, सूचीबद्ध संस्थामा दोहोरिएर सेवा लिन आउने महिलाको संख्या बढ्दो छ। उनका अनुसार परिवार व्यवस्थापनका अस्थायी वा स्थायी साधन प्रयोग नगर्दा गर्भपतन गराउने महिलाको संख्या बढेको हो।
असुरक्षित गर्भपतनका कारण महिलाहरूमा स्वास्थ्य समस्या देखा पर्न सक्छ। धौलागिरि प्रादेशिक अस्पताल बागलुङका प्रमुख डा. किरण तिवारीले बताए, “असुरक्षित गर्भपतन गर्दा अधिक रक्तस्राव, संक्रमण, र भविष्यमा गर्भधारणमा समस्या आउन सक्छ। धेरै पटक गर्भपतन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्छ। परिवार नियोजनका साधन प्रयोग गर्नु नै उत्तम विकल्प हो।”
उनले थपे, “गर्भपतन आपत्कालीन अवस्थामा मात्र गर्नु उपयुक्त छ। बजारमा जथाभावी उपलब्ध औषधि खाँदा महिलाको ज्यान पनि जोखिममा पर्छ। आफूखुसी गर्भपतनका औषधि प्रयोग नगर्नुहोस र आवश्यक परे मात्र सूचीबद्ध स्वास्थ्य संस्थामा योग्य स्वास्थ्यकर्मीको सल्लाह अनुसार गर्नुहोस।”
						  
					
    

















