यस वर्ष करिब ३ लाख मेट्रिक टन कम धान उत्पादन हुने अनुमान
चितवन, २६ कार्तिक । यो वर्ष आएको भारी वर्षाका कारण नेपालको कृषि क्षेत्रमा ठूलो नोक्सानी भएको छ, जसले धानको उत्पादनमा ५ प्रतिशतले कमी आउने अनुमान गरिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, देशभर कृषि र पशुपन्छी क्षेत्रमा जम्मा ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क छ। यही क्षतिको विश्लेषण गरेर मन्त्रालयले धान उत्पादन घट्ने प्रक्षेपण गरेको हो।
गत वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएकोमा, यस वर्ष त्यसको करिब ३ प्रतिशत अर्थात् लगभग ३ लाख मेट्रिक टन कम धान उत्पादन हुने आकलन गरिएको छ।
सुरुमा मन्त्रालयले यस वर्ष ६० लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने प्रारम्भिक अनुमान गरेको थियो, किनभने विगत चार–पाँच वर्षदेखि उत्पादन बढ्दै आइरहेको थियो। तर, जलवायु परिवर्तनको असरस्वरूप आएको बाढी, वर्षा र भू-क्षय जस्ता विपद्हरूले गर्दा यो लक्ष्यमा पुग्न अब गाह्रो देखिएको छ।
मुख्यगरी, धान पाक्ने बेलामा आएको पानीले किसानले समयमै धान काट्न र काटेको धान उठाउन पाएनन्। खेतमा काटेर राखिएको धान पानीले भिजेर कुहिएकाले गर्दा किसानहरूले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ र यसले समग्र उत्पादनमा कमी ल्याउनेछ।
यद्यपि, मौसम विभागले वर्षाको सूचना समयमै दिएकाले र मन्त्रालयले सोही अनुसार किसानहरूलाई मौसम सफा भएपछि मात्र धान काट्न सुझाव दिएकाले क्षति केही हदसम्म कम गर्न सहयोग पुगेको जानकारी मन्त्रालयले दिएको छ। मन्त्रालयले किसानहरूलाई मल, बीउबिजन, प्रविधि र प्राविधिक सीपमा निरन्तर सहयोग गरिरहेको छ।


















