साओमीको एआई–ईभी व्यवसाय पहिलोपटक नाफामा, तर चिप मूल्य वृद्धि आगामी चुनौती
चितवन, ०३ मंसिर । चिनियाँ प्रविधि कम्पनी साओमीले विद्युतीय गाडी (ईभी), कृत्रिम बुद्धिमत्ता (एआई) र अन्य नयाँ प्रविधि समेटिएको आफ्नो व्यवसायिक शाखाले पहिलोपटक त्रैमासिक नाफा कमाएको घोषणा गरेको छ।
अध्यक्ष लु वेइबिङका अनुसार, आगामी वर्ष मोबाइलमा प्रयोग हुने मेमोरी चिपको मूल्य तीव्र रूपमा बढ्ने भएकाले बजारमा थप चुनौती देखिनेछ।
किफायती स्मार्टफोन, ट्याब्लेट तथा घरायसी उपकरणमार्फत विश्व बजारमा प्रबेस जमाएको साओमीले गत वर्ष मात्र विद्युतीय गाडी क्षेत्रमा पाइला राखेको थियो। यसै क्रममा, कम्पनीले आफ्नै प्रविधिमा आधारित नयाँ एआई मोडेल सार्वजनिक गर्दै प्रविधि प्रतिस्पर्धामा प्रवेश विस्तार गरेको छ।
साओमीका अनुसार, चालू वर्षको तेस्रो त्रैमासमा एआई, ईभी र नयाँ प्रविधि शाखाले झन्डै ७ अर्ब रुपैयाँ बराबरको सञ्चालन नाफा कमायो, जुन अहिलेसम्मकै उच्च हो।
जुलाईदेखि सेप्टेम्बरसम्म कम्पनीको कुल आम्दानी १,११० अर्ब रुपैयाँ नाघ्यो, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा २२ प्रतिशत बढी हो। समायोजित शुद्ध नाफा पनि ८१ प्रतिशतले बढेर ११३ अर्ब रुपैयाँ पुगेको छ।
तर सकारात्मक नतिजा देखिए पनि पछिल्ला छ महिनामा साओमीको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटेको छ। विशेषज्ञहरूका अनुसार एआई उपकरणको बढ्दो मागसँगै स्मृति चिपको मूल्य तीव्र उकालो लाग्नु र बजारमा मूल्य युद्ध चर्किनु कम्पनीका प्रमुख चुनौती बन्न सक्छन्।
अध्यक्ष वेइबिङले चेतावनी दिँदै भने, “आगामी वर्ष मूल्य तथा आपूर्ति–शृङ्खलामा पर्ने दबाब यस वर्षभन्दा धेरै ठूलो हुनेछ, जसले धेरै वस्तुको खुद्रा मूल्य उल्लेखनीय रूपमा बढाउन सक्छ।” चीनको सुस्त आन्तरिक खर्च, आवास क्षेत्रमा दीर्घकालीन ऋण सङ्कट र कमजोर उपभोक्ता भरोसाले समग्र बजार वातावरण नै अनिश्चित बनेको विश्लेषकहरूले बताइरहेका छन्।























