विदेश भ्रमणले मात्र अर्थतन्त्र सुध्रँदैनः शिक्षामन्त्री महावीर पुन
चितवन, २५ पुष । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश भ्रमण गरेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने स्पष्ट पार्दै मन्त्रीको हैसियतमा आफू वैदेशिक भ्रमणमा जान इच्छुक नरहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले यसअघि तीन वटा वैदेशिक भ्रमण तथा कार्यक्रमका निमन्त्रणा आए पनि आफू नगेको जानकारी दिएका छन् । उहाँका अनुसार हाल पनि दुई वटा अन्तर्राष्ट्रिय कार्यक्रमका निमन्त्रणा प्राप्त भए तापनि ती कार्यक्रममा सहभागी नहुने निर्णय गरिएको छ ।
देशको आर्थिक अवस्था कमजोर रहेको उल्लेख गर्दै मन्त्री पुनले अर्थतन्त्र सुधार नगरी प्रधानमन्त्री वा अर्थमन्त्री फेरिँदैमा ठोस प्रगति नहुने टिप्पणी गरेका छन् । “देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही हुनेवाला छैन, किनकि केही गर्न पैसा चाहिन्छ,” मन्त्री पुनको भनाइ छ । साथै उहाँले “विदेश घुमेर अर्थतन्त्र बन्छ ?” भन्दै प्रश्नसमेत उठाएका छन् ।
मन्त्री पुनले इजरायलको जेरुसेलममा आगामी फेब्रुअरी ४ देखि ६ तारिखसम्म हुने मन्त्रिस्तरीय बैठक तथा साउदी अरेबियामा आगामी मे ३ देखि ४ तारिखसम्म आयोजना हुने ‘ह्युम्यान क्यापासिटी इनिसियटिभ’ कार्यक्रममा सहभागिताका लागि आएको निमन्त्रणा पत्रसमेत सार्वजनिक गरेका छन् ।
उनले वैदेशिक भ्रमणभन्दा देशभित्रै बसेर शिक्षा, विज्ञान र प्रविधिको विकासमा योगदान दिनु नै हालको प्राथमिकता रहेको संकेत गरेका छन् ।




















