शङ्कर पोखरेलको दाबी : दाङलाई ‘सिलिकन भ्याली’ बनाउने अभियान तीव्र गतिमा अघि बढ्दै
चितवन, १२ फाल्गुण । शङ्कर पोखरेलले दाङलाई शैक्षिक तथा प्रविधिक केन्द्रका रूपमा विकास गर्ने अभियान तीव्र रूपमा अघि बढिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले दाङको समग्र विकास कुनै एक राजनीतिक दलको मात्र एजेन्डा नभई सम्पूर्ण जिल्लावासीको साझा चासो र हितसँग जोडिएको विषय भएको उल्लेख गरेका छन्।
उनका अनुसार लामो समयदेखि अलपत्र परेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, घोराही क्याम्पसको निर्माण कार्य अहिले तदारुकताका साथ अघि बढाइएको छ। ३० करोड रुपैयाँ स्रोत सुनिश्चित भइसकेपछि २०८२ वैशाख २३ गते बोलपत्र आह्वान गरिएको र २०८२ माघ ८ गते २० करोड ८७ लाख ४० हजार २२१ रुपैयाँमा निर्माण सम्झौता सम्पन्न भएको जानकारी उनले दिएका छन्।
दाङ क्षेत्र नं. २ का उम्मेदवारसमेत रहेका पोखरेलले २०८४ सालभित्र निर्माण सम्पन्न गरी कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको बताएका छन्। उक्त अत्याधुनिक क्याम्पसले दाङलाई सूचना प्रविधिको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्दै उनले ‘ब्याङ्लोर मोडल’ अनुरूप नेपाली ‘सिलिकन भ्याली’ अर्थात् ‘दाङ भ्याली’को अवधारणा साकार पार्ने आधार तयार भइरहेको उल्लेख गरेका छन्।
“जिल्लाको विकास कुनै दल विशेषको स्वार्थ होइन, यो समग्र जिल्लावासीको भविष्यसँग गाँसिएको विषय हो,” उनले सामाजिक सञ्जालमार्फत बताएका छन्। शिक्षा, प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राखेर दाङको दीर्घकालीन विकासको सोचसहित काम भइरहेको उनले स्पष्ट पारेका छन्।



















