त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा सेवा बन्द गर्ने निर्णय
चितवन, २८ पुष । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आएको उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ।
अस्पतालले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमा अन्तर्गतको उपचार सेवा स्थगन गर्ने जनाएको छ।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार विसं २०७७ देखि निरन्तर सञ्चालन हुँदै आएको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको सेवा स्वास्थ्य बिमा बोर्डबाट भुक्तानी नआएपछि सञ्चालन गर्न नसकिएको हो।
बिमा कार्यक्रममार्फत उपचार गरेका बिरामीको खर्च भुक्तानी नहुँदा अस्पताल आर्थिक संकटमा परेको उहाँले जानकारी दिनुभयो।
अस्पतालले आन्तरिक स्रोतबाट सबै दैनिक खर्च धान्नुपर्ने अवस्था सिर्जना हुँदा मासिक करिब दुई करोड रुपैयाँ नोक्सानी व्यहोर्नु परेकाले स्वास्थ्य बिमा सेवा निरन्तरता दिन नसकिएको रोस्याराले बताए। उहाँका अनुसार बिमाबाट उपचारका लागि आउने बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ, जसका कारण मासिक खर्च करिब पाँच करोड रुपैयाँसम्म पुग्ने गरेको छ।
अस्पताल प्रशासनले बिमा बोर्डले दाबी गरिएको रकमको करिब ५० प्रतिशत मात्र स्वीकृत गरी बाँकी अस्वीकृत गर्दै आएको जनाएको छ। हालसम्म अस्पतालको स्वास्थ्य बिमा दाबी रकम करिब ४० करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको सूचनामा उल्लेख छ।
सूचना अधिकारी रोस्याराले बिमा बोर्ड र अस्पतालबीच उपचार दररेट फरक रहेको उल्लेख गर्दै, अस्पतालको दररेटलाई अन्तिम मान्यता दिनुपर्ने माग विगत दुई वर्षदेखि गर्दै आए पनि सुनुवाइ नभएको बताए। भुक्तानी र दररेटसम्बन्धी समस्या समाधान नहुँदा अन्ततः स्वास्थ्य बिमा सेवा बन्द गर्नुपर्ने अवस्था आएको अस्पताल प्रशासनको भनाइ छ।





















