मयूर यातायातको बसमा पाकेटमारी, २ लाख ७५ हजारसहित चार जना पक्राउ
चितवन, २४ पुष । सिनामंगलबाट गोंगबु जाँदै गर्दा मयूर यातायातको बसमा सवार एक यात्राको २ लाख ७५ हजार रुपैयाँ पाकेटमारी भएको छ।
बाग्लुङ नगरपालिका–४ का स्थायी बासिन्दा तथा हाल काठमाडौंको मित्रनगरमा डेरा गरी बस्दै आएका ३७ वर्षीय दीपेन्द्र शर्मा सिनामंगलबाट गोंगबु जान मयूर यातायातको बस चढेका थिए। मित्रपार्क पुग्न नपाउँदै उनले बोकेको कालो रंगको साइड ब्याग हराएको थाहा पाए।
घटनापछि शर्माले २३ पौषमा प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए। जाहेरी दर्ता भएलगत्तै अनुसन्धानमा खटिएको प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं दक्षिणकाली नगरपालिका–२ का ३७ वर्षीय सरोज खड्का, काभ्रेको महाभारत गाउँपालिका–७ का ४२ वर्षीय विकास लामा, तनहुँका ३३ वर्षीय राजु गुरुङ र ललितपुरका ३३ वर्षीय सुवास मगर रहेका छन्।
प्रहरीका अनुसार जाहेरी परेको ६ घण्टाभित्रै उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।
















