भैरहवामा ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३ | १६:१२:५३
चितवन, १५ साउन । भैरहवाबाट ७० हजार रुपैयाँ बराबरका नक्कली भारतीय नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
सिद्धार्थनगर नगरपालिका–१२ स्थित खड्का खाजाघरमा नक्कली भारतीय नोटको कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले खानतलासी गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट ५०० दरका १४० थान गरी ७० हजार नक्कली भारतीय रुपैयाँ बरामद गरेको जनाएको छ।
यसका साथै पक्राउ परेकाहरूको साथबाट दुई हजार ७५८ भारतीय रुपैयाँ, दुई हजार १८० नेपाली रुपैयाँ र दुई थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ।
नक्कली नोटको कारोबारमा संलग्न दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : शुक्रबार, साउन १५, २०८३ |
१६:१२:५३
375


















