देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
चितवन, ३१ साउन । प्रहरीले देशका विभिन्न स्थानबाट टापेन्टाडोल, ब्राउनसुगर, गाँजा, खैरो हेरोइन, ट्रामाडोल, पोलेन र प्रेगाब्लिनलगायत लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार कास्की, मोरङ, सुनसरी, बर्दिया, धनुषा, झापा, ललितपुर, कैलाली, तनहुँ र उदयपुरका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।
कास्कीको पोखरा–१ सिम्पानीबाट टापेन्टाडोल २२० ट्याब्लेटसहित सन्दिप गुरुङसहित पाँच जना पक्राउ परेका छन्। यस्तै, पोखरा–२५ हेम्जास्थित डेराबाट थप ८०० ट्याब्लेट टापेन्टाडोलसहित २१ वर्षीय लुकास तामाङ पक्राउ परेका छन्।
मोरङबाट तीन जना, सुनसरीबाट तीन जना तथा बर्दिया, धनुषा र झापाबाट एक–एक जना पक्राउ परेका छन्। ललितपुरमा दुई छुट्टाछुट्टै घटनामा तीन जना, कैलालीबाट चार जना, तनहुँबाट दुई जना र उदयपुरबाट दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट विभिन्न परिमाणमा ब्राउनसुगर जस्तो देखिने पदार्थ, खैरो हेरोइन, गाँजा, टापेन्टाडोल, ट्रामाडोल, पोलेन र प्रेगाब्लिन बरामद गरिएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















