सिराहामा सशस्त्र प्रहरीद्वारा १५ लाखभन्दा बढीका अवैध सामान बरामद
चितवन, ०२ साउन । सशस्त्र प्रहरी बल नम्बर ७ गण मुख्यालय सिराहाले नेपाल–भारत सीमा क्षेत्रबाट करिब १५ लाख ४९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरीले शुक्रबार किराना सामान, कपडा, मदिरा, पेय पदार्थ तथा दुईवटा मोटरसाइकलसहित १५ लाख ४८ हजार ८७० रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो।
गस्तीका क्रममा नेपाल–भारत सीमा क्षेत्रबाट बीआर ३२ एए ९०८ र बीआर ३२ एफ ६५९७ नम्बरका भारतीय मोटरसाइकलसहित उक्त सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि सिराहा भन्सार कार्यालयमा बुझाइएको छ।
प्रहरीका अनुसार कपडा तथा किराना सामान भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तथा मदिरा नेपालबाट भारततर्फ तस्करी हुने गरेको छ।
यसैबीच, सशस्त्र प्रहरी बल नम्बर ७ गण मुख्यालय सिराहाले गत असार महिनामा मात्र १ करोड ५६ लाख रुपैयाँभन्दा बढी मूल्यका चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको जनाएको छ।



















