ग्याँस अभाव समाधान गर्न राष्ट्रियसभा सदस्यको सरकारसँग माग
चितवन, २८ साउन । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावका कारण नागरिकले खाना पकाउनसमेत समस्या भोग्नुपरेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्याँस अभावका कारण नागरिकले खाना खान नपाउने अवस्था सिर्जना भएकाले सरकार गम्भीर बन्नुपर्ने बताइन्। सदस्य कृष्णप्रसाद अधिकारीले ग्याँसको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्न आग्रह गरे।
बैठकमा सदस्य घनश्याम रिजालले पक्राउ परेका वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गरे। पदमबहादुर परियारले तनहुँ हाइड्रो निर्माणका क्रममा सेती नदीको बहाव परिवर्तन हुँदा उत्पन्न समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै, सदस्य रुक्मिणी कोइरालाले पाकिस्तानमा हिमाल आरोहणका क्रममा निर्मल पुर्जासहित छ नेपाली र अन्य तीन जनाको निधनप्रति दुःख व्यक्त गरिन्। रेनु चन्दले कञ्चनपुरका आरक्षपीडितको समस्या पटक–पटक आयोग गठन हुँदा पनि समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
विष्णुकुमारी सापकोटाले काठमाडौँ उपत्यकामा घर तथा कोठा भाडाका लागि नीति बनाएर भाडादर निर्धारण गर्न माग गरिन्। सदस्य विष्णुबहादुर विश्वकर्माले कालिकोटको नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीलाई बुधबार गरिएको धरपकडप्रति विरोध जनाए।





















