वैदेशिक रोजगारीको नाममा २८ लाख ७० हजार ठगी, पाँच जना पक्राउ
चितवन, ०१ माघ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई रु २८ लाख ७० हजार ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–५ की ३७ वर्षीया सुनिता इधिङगो लिम्बू, रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१० का ३० वर्षीय अभिशेष कराला, अर्घाखाँचीको मालारानी गाउँपालिका–१ का ४६ वर्षीय चेतनारायण आचार्य, काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–७ का ४९ वर्षीय रेशमलाल लामा तामाङ तथा काठमाडौँ महानगरपालिका–१७ की ४२ वर्षीया निलिमा श्रेष्ठ रहेका छन् ।
प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार सुनिताले युएई पठाउने भन्दै रु १ लाख ५० हजार, अभिशेषले माल्दिभ्स पठाउने नाममा रु ३ लाख ४० हजार, चेतनारायणले बेलायत पठाउने भन्दै रु १३ लाख ६० हजार, रेशमले अमेरिका पठाउने भन्दै रु ९ लाख तथा निलिमाले बेलायत पठाउने भन्दै रु १२ लाख रकम लिई सम्पर्कविहीन बनेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचल पठाइएको प्रहरीले जनाएको छ ।




















