दार्चुलामा जनपद प्रहरीका हवल्दार मृत फेला, दुई जना पक्राउ
चितवन, २७ माघ । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडस्थित सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन्।
घटना शंकास्पद देखिएकाले प्रारम्भिक अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो।
मृत फेला परेका प्रहरी हवल्दार घर्तीको टाउको र निधारमा चोट देखिएको छ। उनी महाकाली नगरपालिका–४ कै बासिन्दा रहेको जनाइएको छ। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक गौरव महतका अनुसार घटनामा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूको पनि खोजतलास भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



























