सुकुम्बासीलाई ७ महिनाभित्र लालपुर्जा : ज्ञवाली
चितवन,१४ मंसिर ।
भूमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देवि ज्ञवालीले सुकुम्बासी तथा अव्यस्थित बसोबास गरेका नागरिकहरुलाई ७ महिनाभित्र लालपुर्जा वितरण गरिने बताएका छन् । नेपाल बसोबास वस्ती संरक्षण समाज, चितवनले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले आउँदो असार मसान्त भित्र लालपुर्जा वितरण गरिसक्ने बताएका हुन् ।
भूमि सम्बन्धि ऐन, नियमावली र कार्यविधिहरु बनिसकेको बताउँदै उनले अब स्थानिय तहहरुसँग सम्झौता गरी फिल्डको काम गर्न बाँकी रहेको बताए । यहि मंसिर २२ गतेदेखि पुष २ गतेसम्म देशभरका स्थानिय तहहरुसँग कार्यसम्पादन सम्झौता गर्ने तयारी आयोगको रहेको उनले बताए । मंसिर २५ गते बागमती प्रदेशका २५ भन्दा बढी स्थानिय तहहरुसँग सम्झौता हुन लागेको उनको भनाइ छ ।
मंसिर २५ गते गर्न लागिएको सम्झौतामा चितवनका पाँच वटा स्थानिय तहहरु समावेश हुने उनले बताए । रत्ननगर नगरपालिकाले यसअघि नै सम्झौता पत्रमा हस्ताक्षर गरिसकेकाले अब भरतपुर, माडी, राप्ती, कालिका र इच्छाकामनासँग हुने उनले जानकारी दिए । खैरहनि नगरपालिकाले सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेका नागरिकहरुको अनुमानित तथ्यांक समेत नपठाएकाले अहिले सम्झौताको टुंगो नलागेको ज्ञवालीले बताए ।
पुष देखि फागुनसम्ममा तीन तहमा सहजिकरण समिति गठन गर्ने र लाभग्राहीहरुको लगत संकलन गर्ने काम हुने उनले बताए । चैत देखि जेठ सम्म सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेको नागरिकको जग्गाको नापजाँँच गर्ने, श्रेस्ता पुर्जा तयार गर्ने र बैशाखमा सम्बन्धित स्थानिय तहहरुलाई वितरण गरिने उनले बताए ।