मादी पुल निर्माण तीव्र : हालसम्म ७२ प्रतिशत भौतिक प्रगति
चितवन, २८ कार्तिक । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माण तीव्र गतिमा भइरहेको छ। पर्यटकलाई आकर्षित गर्न सक्ने कलात्मक आर्क संरचना बनाउनुपर्ने भएकाले पुललाई विशेष डिजाइनमा निर्माण गरिएको हो।
यातायात सुगम बनाउने उद्देश्यसँगै पर्यटक आकर्षणलाई समेत ध्यानमा राखेर सुरु गरिएको पुलको हालसम्म ७२ प्रतिशत भौतिक प्रगति भइसकेको मुग्लिन–पोखरा सडक (पूर्वी खण्ड) आयोजनाले जनाएको छ।
व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पुल चार लेनको हुने आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार निर्माण सम्झौताअनुसार काम नसकिएपछि ११ महिना समय थपिएको छ। थप गरिएको म्यादभित्र पुल सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको इञ्जिनियर पाण्डेले बताए।
गत साउन २६ मा म्याद सकिएपछि आगामी असार १९ गतेसम्म निर्माण अवधि थपिएको हो। जेठदेखि भदौसम्म वर्षायामका कारण काम रोकिए पनि दसैँपछिदेखि पुनः निर्माणले गति लिएको कार्यालयले जनाएको छ।
तीन सय १५ मिटर लम्बाइ र छ वटा स्पान रहने यो पुल तीन वर्षभित्र बनिसक्ने गरी विसं २०७९ साउन २६ मा एक अर्ब २१ करोड लागतमा ठेक्का सम्झौता भएको थियो।
हाल मादी नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लामो छ। सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ चार लेनको पुल निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताए।
मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मका १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्। त्यस्तै, ४१.४५ किलोमिटर सडक खण्डमा कालोपत्रे कार्य पनि सकिएको छ।
पूर्वी खण्डको निर्माण कार्य विसं २०७७ माघ १७ मा सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो। यस खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको हो।

















