गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द प्रसाद भण्डारी नियुक्त
चितवन, २८ पुष । सरकारले गोरखापत्र संस्थानको अध्यक्ष पदमा भक्तपुरका गोविन्द प्रसाद भण्डारीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
बैठकले संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ। प्रतिनिधिसभा विघटनपछि यसअघि सुशीला कार्की नेतृत्वको सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेको थियो। सोही सन्दर्भमा सरकारले पुनः राष्ट्रिय सभाको अधिवेशन बोलाउने प्रक्रिया अघि बढाएको हो।
मन्त्रिपरिषद् बैठकले यसका साथै विभिन्न महत्वपूर्ण नीतिगत तथा अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी निर्णयहरू पनि गरेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतमा नेपालले सन् २०२४ का लागि बुझाउनुपर्ने २ लाख ८३ हजार ५०३ अमेरिकी डलर वार्षिक योगदान प्रदान गर्न स्वीकृति दिइएको छ।
यस्तै, वित्तीय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ सम्मका लागि स्वीकृत गरिएको छ। सन् २०२५ मार्चमा आएको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगोडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि ३ लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।
त्यसैगरी मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गरिएको छ भने संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।






















