ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजार ५०औँ हप्तामा प्रवेश
चितवन, ०२ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमी (एमएसएमई) का उत्पादन बजारसम्म पुर्याउने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार ५०औँ हप्तामा प्रवेश गरेको छ।
बैंकले सन् २०२४ नोभेम्बर ६ देखि हाटबजार सञ्चालन गर्दै आएको छ। यस अवसरमा काठमाडौंको कमलादी शाखामा विशेष मेला आयोजना गरिएको थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यक्रममा उद्यमीहरूलाई बजारीकरणमा सहज पहुँच दिलाउने बैंकको पहलको चर्चा गर्दै, हाटबजारले खाद्य उत्पादनकर्ता, किसान, हस्तकला उत्पादक र दिगो साना तथा मझौला उद्यमीहरूको उत्पादन प्रदर्शन तथा बिक्री गर्न मद्दत गरेको बताए।
रेग्मीले हाटबजारले कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध बनाउने, उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने र दिगो, हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने बताए। साथै, स्थानीय, रैथाने र अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्दै नेपाली उद्यमीलाई हौसला प्रदान गर्ने हाटबजारको भूमिका उल्लेख गरे।
बैंकले यस हाटबजारलाई सिम्बोलिक अभियानका रूपमा सुरु गरेको भए पनि ग्राहक र उद्यमीको विश्वासका कारण ५०औँ हप्तासम्म सफल सञ्चालन भएको र भविष्यमा अझ व्यापक बनाउने योजना रहेको छ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा ३५२ शाखा, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ। यसबाहेक, बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आर्थिक समृद्धिमा योगदान पु¥याउँदै आएको छ।



















