प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत बासको शिष्टाचार भेट
चितवन, २८ पुष । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले आज शिष्टाचार भेट गर्नुभएको छ। अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा राजदूत बासले नेपालको पहिलो महिला प्रधानन्यायाधीश तथा पहिलो महिला प्रधानमन्त्रीका रूपमा इतिहास रचेकोमा प्रधानमन्त्री कार्कीलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले धन्यवाद व्यक्त गर्दै नेपाल–इजरायलबीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले दुवै मुलुकबीचको सम्बन्धलाई अझ सुदृढ र उच्चस्तरमा पुर्याउन आपसी सहकार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
राजदूत बासले नेपाल र इजरायलबीचको सम्बन्ध सधैं सुमधुर रहँदै आएको उल्लेख गर्दै यसलाई थप प्रगाढ बनाउन आफू प्रतिबद्ध रहेको जानकारी गराउनुभयो। साथै हालै दुई देशबीच श्रम आप्रवासनसम्बन्धी सम्झौता र त्यसको कार्यान्वयनसम्बन्धी प्रोटोकलहरू पारित भएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभयो। यस सम्झौताले इजरायलमा नेपाली कामदारका लागि रोजगारीका अवसरलाई कानुनी आधार प्रदान गर्ने उहाँको भनाइ छ।
प्रधानमन्त्री कार्कीले इजरायल सरकारले नेपाली नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा धन्यवाद दिँदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको जानकारी गराउनुभयो।
भेटका अवसरमा दुवै पक्षले नेपाल–इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वर्षगाँठका अवसरमा थप महत्त्वपूर्ण सहकार्य तथा कार्यक्रमको थालनी गर्ने विषयमा पनि जोड दिएका थिए।






















