डा. शेखर कोइरालाः कांग्रेस एकताबद्ध राख्ने प्रयास सफल हुन सकेन
चितवन, ०१ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने आफ्नो प्रयास सफल हुन नसकेको बताएका छन् । आज जारी विज्ञप्तिमार्फत उनले कांग्रेसलाई एकताबद्ध राख्ने क्रममा आफू मात्र होइन, यस घटनामा संलग्न सबै चुक्न पुगेको स्वीकार गरेका छन् ।
डा. कोइरालाले कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्ने उद्देश्यका साथ इमानदार प्रयास गरे पनि विभाजनबाट पार्टीलाई जोगाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । साथै, आगामी दिनमा आसन्न निर्वाचनमा सहभागी हुँदै आठ दशक लामो कांग्रेस इतिहासको गौरव जोगाउने जिम्मेवारी अझ बढेको उनले उल्लेख गरेका छन् ।
वर्तमान विषम परिस्थितिमा पार्टीभित्र एकताको अत्यन्तै आवश्यकता रहेको औँल्याउँदै उनले सुदृढ कांग्रेसका पक्षमा सबै एकजुट हुन आग्रह गरेका छन् । पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया नरोकिने स्पष्ट पार्दै डा. कोइरालाले सबैलाई आफ्नो घर—कांग्रेसमा—फर्कन विज्ञप्तिमार्फत आह्वान गरेका छन् ।






















