कांग्रेस विभाजनले निर्वाचन रोक्दैन: प्रचण्ड
चितवन, ०२ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताएका छन्।
भरतपुर महानगरपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले निर्वाचनको विकल्प नभएको स्पष्ट पार्दै भने, “संविधानसभाको पहिलो निर्वाचनको समय पनि अघिल्लो दिनसम्म देशभर हल्ला थियो कि चुनाव हुँदैन। तर चुनाव भयो।”
प्रचण्डले राजनीतिक दल र जनतालाई अब चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलमा नबस्न आग्रह गर्दै, निर्धारित समयमा निष्पक्ष निर्वाचन सम्पन्न गर्न सबैले जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए।
फरक प्रसङ्गमा उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचनमा असर पर्छ कि भन्ने प्रश्न उठेको भए पनि ठूला पार्टी विभाजनले चुनावमा असर नगर्ने बताए।
साथै, भरतपुर महानगरपालिकाले समानुपातिक विकासका कारण देशकै नमुना महानगर बनेको पनि उनले उल्लेख गर्दै, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सांस्कृतिक समुदायको समावेशी विकासमा गरिएको योगदानको प्रशंसा गरे।






















