भरतपुरको मुहार फेरेर बिदा हुँदै मेयर रेनु दाहाल
चितवन, ०३ माघ । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुख पदमा निर्वाचन लड्न आउँदा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’का रूपमा मात्र चिनेका थिए । तर आज, नौ वर्षसम्म भरतपुरको नेतृत्व गर्दै नगरको मुहार फेरेर बिदा हुन लाग्दा, उनी भरतपुरवासी मात्र होइन, सिङ्गो देशले विकासको पर्यायका रूपमा चिन्ने व्यक्तित्व बनेकी छन् ।
भरतपुरलाई समस्यै समस्याले घेरेको अवस्थाबाट आजको आधुनिक, व्यवस्थित र उज्यालो सहरको रूपमा रूपान्तरण गर्नुमा दाहालले खेलेको भूमिका भरतपुरवासीका लागि चिरस्मरणीय रहनेछ । साँघुरा राजमार्ग, खाल्डाखुल्डीले भरिएका धुलाम्य सडक, जीर्ण विद्यालय भवन, सीमित स्वास्थ्य सेवा र बर्सेनि बाढीको त्रासमा रात काट्न बाध्य नारायणी तटीय क्षेत्रका बासिन्दाको पीडालाई उनले नेतृत्वकालमै प्राथमिकतामा राखिन् ।
फराकिला र चिल्ला सडक, सडकभरि झलमल्ल बत्ती, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा देखिएको सुधारले भरतपुरलाई नयाँ परिचय दिएको छ । वर्षायाममा निदाउन नसक्ने नारायणी तटीय क्षेत्रका बासिन्दा अब सुरक्षित रात बिताउन सक्ने अवस्थामा पुगेका छन् ।
विसं २०७४ मा पहिलोपटक स्थानीय तहको निर्वाचनका क्रममा भरतपुर आइपुग्दाको स्मरण गर्दै दाहाल भन्छिन्, “वैशाखको चर्को गर्मी, सुक्खा खेतबारी, सिँचाइको अभाव र जनताको दैनिकीले मलाई गहिरो रूपमा छोएको थियो ।” त्यतिबेला देखिएका समस्याको समाधान गर्ने सपना नै आफूलाई निरन्तर अघि बढाउने प्रेरणा बनेको उनको भनाइ छ ।
भरतपुरको विकासका लागि आफ्नो जीवनको महत्त्वपूर्ण एक दशक समर्पण गरेको उल्लेख गर्दै उनले निजी चाहना र सुविधालाई पन्छाएर नगरवासीको सुख–दुःखमै आफूलाई एकाकार गरेको बताउँछिन् । “काठमाडौँ बस्न मन लागेन, निजी काममा रमाउन सकिनँ,” उनी भन्छिन्, “भरतपुरको उन्नति, प्रगति र समृद्धिका लागि खर्चिएको समयप्रति मलाई गर्व छ ।”
उनको नेतृत्वमा भरतपुरमा घर–घर र खेत–खेतसम्म कालोपत्रे सडक पुगेका छन् । साँघुरा सडक फराकिला बनाइए, नालीसहित व्यवस्थित सडक निर्माण गरियो । नौ वर्षको अवधिमा महानगरमा १ हजार ७२ किलोमिटर नयाँ सडक कालोपत्रे भएका छन्, जुन पूर्व–पश्चिम राजमार्गभन्दा पनि लामो दूरी हो । सडकसँगै स्मार्ट बत्ती, हाईमास्ट र मिनीमास्ट जडान गरी भरतपुरलाई उज्यालो सहर बनाइएको छ ।
मुख्य बजार र राजमार्ग क्षेत्रका २३ किलोमिटर सडकमा विद्युत् तार भूमिगत गरिएको छ । डिजिटल हाउसहोल्ड नम्बरिङ, ४१८ वटा अत्याधुनिक सिसिटिभी जडान, नेपालकै सबैभन्दा लामो ८८.६ किलोमिटर चक्रपथ निर्माण जस्ता कामहरू सम्पन्न वा प्रक्रियामा छन् ।
नारायणी नदीमा अर्बौँको लागतमा तटबन्ध निर्माण गरी बाढीको दीर्घकालीन समाधान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका वडामा जङ्गली जनावरबाट जोगाउन २६ किलोमिटर लामो मेसजाली निर्माण गरिएको छ । भूमिगत सिँचाइ, नारायणी लिफ्ट, बोरिङ र ट्युबवेलमार्फत झण्डै ८ हजार विगाहा जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
कृषि क्षेत्रमा किसानलाई उपकरण अनुदान, दूधमा प्रतिलिटर चार रुपैयाँ अनुदान, सीपमूलक तालिममार्फत युवालाई स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गरिएका छन् । सन् २०२४ लाई ‘भरतपुर भ्रमण वर्ष’का रूपमा मनाएर पर्यटन प्रवर्द्धन गरिएको छ ।
भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन, रनवे विस्तारको सहजीकरण, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, नारायणीमाथिको सिग्नेचर पुल, छ लेनको आकर्षक सडक र बाइपासले भरतपुरको पहिचान नै फेरिएको छ ।
सुशासन र आर्थिक पारदर्शितामा भरतपुर उत्कृष्ट बनेको छ । आन्तरिक आम्दानी बढेर करिब १ अर्ब ४० करोड पुगेको छ । झण्डै १०० विद्यालय भवन निर्माण, सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि, २९ वटै वडामा स्वास्थ्य संस्था स्थापना, निःशुल्क एम्बुलेन्स, बाल उमङ्ग जीवन बिमा कार्यक्रमजस्ता पहलले सामाजिक क्षेत्रमा ठोस प्रभाव पारेका छन् ।
पुङ्गी र केरुङ्गा खोलाको सौन्दर्यकरण, खानेपानी ओभरहेड ट्याङ्की निर्माण, ९८ प्रतिशत जनतामा शुद्ध खानेपानी पहुँच, विद्युतीय शवदाह गृह र नदी किनारको सी–बीच मोडल विकासले भरतपुरलाई व्यवस्थित र सुन्दर सहर बनाएको छ ।
नौ वर्षको यात्रापछि दाहाल भन्छिन्, “आज हामी बदलिएको, विकसित, हरियाली र उज्यालो भरतपुर देखिरहेका छौँ ।” यही उपलब्धि नै उनको नेतृत्वकालको सबैभन्दा ठूलो परिचय बनेको छ ।





















