नेप्से दोहोरो अंकले घट्यो, परिसूचक २६६२ बिन्दुमा झर्यो
चितवन, २७ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक १० दशमलव २५ अंकले घट्दै दुई हजार ६६२ दशमलव १४ बिन्दुमा कायम भएको हो।
नेप्सेका अनुसार आज ३२४ कम्पनीको दुई करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८९ हजार ८३६ पटक खरिदबिक्री हुँदा कुल आठ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा म्युचुअल फन्ड समूह शून्य दशमलव १९ प्रतिशत र व्यापार समूह शून्य दशमलव ५२ प्रतिशतले बढेका छन् भने बाँकी सबै समूहका उपसूचक घटेका छन्।
बैङ्किङ समूह शून्य दशमलव ०९, विकास बैङ्क एक दशमलव १५, वित्त शून्य दशमलव ९२, होटल तथा पर्यटन शून्य दशमलव ४८, जलविद्युत् शून्य दशमलव २५ र लगानी समूह शून्य दशमलव ५४ प्रतिशतले घटेका छन्।
त्यसैगरी, जीवन बीमा शून्य दशमलव ७६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६५, लघुवित्त शून्य दशमलव ४९, निर्जीवन बीमा शून्य दशमलव ६१ र अन्य समूह शून्य दशमलव ३५ प्रतिशतले ओरालो लागेको छ।
आजको कारोबारमा कालीञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी छ दशमलव ३६ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट भएको कम्पनी बनेको छ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कारोबार भएको छ। कम्पनीको १५ लाख ३० हजार ८८८ कित्ता शेयर रु ४५ करोड २८ लाख ४२ हजार ४९२ बराबरमा किनबेच भएको नेप्सेले जनाएको छ।
















