खैरहनीमा दराई राष्ट्रिय फुटबल प्रतियोगिता सुरु,पहिलो खेलमा खैरहनी ११ पिएसजी विजयी
चितवन , १३ असोज । खैरहनीको चैनपुरमा २६ औं दराई राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता २०८० आजबाट सुरु भएको छ । रामकोला हाम्रो क्लवको आयोजनामा खैरहनी नगरपालिका वडा नम्बर २ स्थित जनजिवन मा विको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको आज खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले उद्घाटन गरेका हुन् । प्रतियोगिताको पहिलो खेल आज खैरहनी ११ पिएसजी र अरुण खोला समूहबिच भएको हो । आज भएको खेलमा अरुण खोलालाई १ का विरुद्ध ३ गोल गर्दै खैरहनी ११ पिएसजी विजयी भएको छ । खैरहनी ११ बाट रविन दराईले २ गोल , मदन दराईले १ गोल र अरुणखोलाका सुमन दराईले १ गोल गरेको प्रतियोगिताका संयोजक मदन दराईले जानकारी दिए ।
आजको खेलको म्यान आफ द म्याज खैरहनी ११ का रविन दराई भएका छन् । २८ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख ,ट्रफी, मेडल र द्धितिय हुनेलाई नगद ५० सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने क्लवका अध्यक्ष सुनिल दराईले जानकारी दिए । प्रतियोगितामा चितवन सहित छिमेकी जिल्लाका गरि १७ वटा समूहको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन पूर्व पन्चेवाजा सहित शोभा यात्रा निकालिएको थियो ।