खैरहनीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु
चितवन , २८ मंसिर । पूर्वी चितवनको खैरहनीमा पाँचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले उद्घाटन गरेका छन् ।
नगर प्रमुख खनियाँले खेलकुदले नगरपालिकाको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने बताए । विद्यालयको कक्षा कोठा बाहिरपनि छुट्टै संसार छ जसको माध्यमबाट स्वास्थ्य पनि राम्रो हुने र आफ्नो ठाँउ र देशलाई चिनाउने अवसरको रुपमा खेलकुदलाई लिनुपर्नेमा उनले जोड दिए । विगतमा खैरहनीले राम्रो प्रदर्शन गरेको भन्दै जित हार भन्दा पनि अनुशासित भएर खेल खेल्न उनले आग्रह गरे । शिक्षासँगै खेलकुुदको विकासमा जनप्रतिनिधिरु एक भएर अगाडी बढेको नगर प्रमुख खनियाँले बताए ।
प्रतियोगितामा विभिन्न विधामा खेल हुने र उक्त खेलहरुमा खैरहनीका २५ वटा विद्यालयबाट विद्यार्थीहरु सहभागी हुनेछन् । तिन दिनसम्म चल्ने प्रतियोगितामा १०० , २००, ४०० , ८००, १५०० र ३००० मिटर दौड, सटपुट थ्रो , हाइजम्प , जेमलिन थ्रो , रिले दौड,लङजम्प , ट्रिपल जम्प ,कबड्डी , भलिवल, तेक्वान्डो लगायतको खेल हुने खैरहनी नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रोहिणी प्रसाद उप्रेतीले जानकारी दिए ।
आज भएको खेल अन्तर्गत छात्रतर्फको १०० मिटर दौडमा कठार माविका सन्दिप प्रजा प्रथम , कंकाली माविका आर्यान दराई द्धितिय, गवै माविका प्रकाश चौधरी र सैनिक माविका निर्दिव भट्टराई तृतिय भएका छन् । त्यस्तै छात्राहरुतर्फको १०० मिटर दौडमा जनजिवन माविकी सलिना वि.क प्रथम , कठार माविकी मुस्कान चौधरी द्धितिय र नेपाल आदर्शकी विशिका चौधरी तृतिय भएकी खैरहनी नगरपालिकाका शिक्षा शाखाका अधिकृत रविन्द्र देवकोटाले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सापकोटा , नगर शिक्षा अधिकारी राजु बानियाँ , खैरहनीका विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । प्रतियोगिता उद्घाटन पुर्व पर्सा बजारबाट खेल मैदानसम्म मार्चपास निकालिएको थियो ।
भिडियो