मनसुन कमजोर बन्दै, तर पहाडी क्षेत्रमा अझै वर्षाको सम्भावना
चितवन, २२ आश्विन। विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्र तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहने जनाएको छ। बाँकी प्रदेशहरूमा भने मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव कायम रहेको विभागले जनाएको छ।
दिउँसोको अवस्थाबारे विभागले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भागमा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ। तराईका अधिकांश भूभागमा आंशिक बदली रहनेछ। यस्तै, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। साथै, कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना विभागले आज बिहान जारी गरेको दैनिक मौसम बुलेटिनमा उल्लेख गरेको छ।





















