तत्काल यात्रा नगर्न पर्यटकलाई आग्रह
चितवन, १२ कार्तिक । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले हाल हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई त्यसतर्फ सावधानी अपनाउन र यात्रा नगर्न आग्रह गरेको छ।
कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको र त्यससँगै उच्च हिमाली क्षेत्रहरूमा हिमपात शुरू भएसँगै पदयात्रा तथा पर्वतारोहणलगायत पर्यटन गतिविधि प्रभावित भएको टानले जनाएको छ। मौसम पूर्वानुमानअनुसार हाल डोल्पा, धौलागिरि, मुस्ताङ, मनाङ, मनास्लु, लाङटाङ, सगरमाथा क्षेत्रलगायतका प्रमुख पदमार्गमा जोखिम बढेको बताइएको छ।
यात्रु सुरक्षा प्राथमिकता दिँदै, मौसम सामान्य नहुँदासम्म उच्च पास र हिमाली पदमार्गमा जाने योजना स्थगित गर्न तथा पर्यटन व्यवसायी, आरोहण टोली, सहयोगी समूह र पदयात्रीहरूलाई यस्तो मार्गमा नजान/नपठाउन टानले अनुरोध गरेको छ।



















