आजको मौसम
चितवन, १३ कार्तिक । देशका विभिन्न भू–भागमा पछिल्ला दिनहरूदेखि पश्चिमी वायु र ‘मोन्था’ नामक चक्रवातको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीबाट विकसित भएको चक्रवात ‘मोन्था’ को असरका कारण बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा वर्षा भइरहेको छ।
आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा दिउँसोभरि बदली रहने सम्भावना छ। तराईका भू–भागमा भने सामान्य बदली मात्र रहने अनुमान गरिएको छ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। त्यसैगरी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा वर्षासँगै हिमपात हुने सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै, देशका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यम स्तरको हिमपात समेत हुन सक्ने चेतावनी दिइएको छ।



















