डोटीमा बोलेरो जिप दुर्घटना, एक जनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, आश्विन २८, २०८२ | ११:४६:३९
चितवन,२८ असोज । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
जिल्लाको बडिकेदार गाउँपालिका–३ देवलमा मङ्गलवार बिहान करिब १ः३० बजे बोलेरो जिप दुर्घटना हुँदा एक महिलाले ज्यान गुमाएकी हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कैलाली (सुखड) बाट देवलतर्फ गइरहेको सु.प.प्र. ०१–००१ च ४६५१ नम्बरको बोलेरो जिप भित्री कच्ची सडकमा सापट भाँचिँदा सडकमा पल्टिएको थियो। दुर्घटनामा परि बडिकेदार गाउँपालिका–३ देवलकी ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिप चालक कैलाली घोडाघोडी नगरपालिका–८ मैनापोखरीका २७ वर्षीय सरोज विकसहित अन्य आठ जना यात्रु भने सकुशल रहेका छन्। दुर्घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक पदम राज भट्टको कमाण्डमा चार जनाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
प्रकाशित मिति : मंगलबार, आश्विन २८, २०८२ |
११:४६:३९
551