बस र टिप्पर ठोक्किँदा ७ जना घाइते
चितवन, २२ असोज । आज बिहान तनहुँ, बन्दिपुर-४, गोरे चौतारामा पृथ्वी राजमार्गमा यात्रुवाहक बस र टिप्पर ठोक्किएका छन्। रुकुम पश्चिमबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. प्र. ०१-००१ अ-यो ००२७ नम्बरको टिप्पर एक आपसमा ठोक्किएका हुन्। दुर्घटनामा ७ जना घाइते भएका छन्। घाइतेहरूलाई लक्ष्मी अस्पताल, डुम्रेमा उपचार भइरहेको छ। ४९ वर्षीय हरिसचन्द्र खत्रीको खुट्टा फ्याक्चर भएकोले थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको छ।
गम्भीर घाइतेहरूमा ३५ वर्षीय चन्द्र बराल, १७ वर्षीय बिन्दु वली, ५० वर्षीय भद्र बहादुर वली, ३५ वर्षीय चन्द्रसिंह खाती रहेका छन्। यसबाहेक, बस चालक ३० वर्षीय सन्जोग नेपाली र टिप्पर चालक ४४ वर्षीय शङ्कर अधिकारी पनि घाइते भएका छन्। घाइतेहरूलाई थप उपचारका लागि भरतपुर सेन्ट्रल अस्पतालमा लैजाने तयारी गरिएको छ।



















